काठमाडौँ – प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ।
मंगलबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश सरकारले प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्न गरेको प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो।
प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेस गरेको प्रस्तावमा दुई तिहाई सांसदले समर्थन गरेपछि प्रस्ताव पास भयो।
मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत पर्यो भने विपक्षमा ४ मत खस्यो। यस्तै राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत खस्यो भने त्यसको विपक्षमा १३ मत खस्यो।
प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए। संशोधन प्रस्ताव दुई तिहाई बहुमतले नै अस्विकार भयो।
प्रदेशसभा सदस्य अर्याल र थरूनीले संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग गरेका थिए।
यस्तै समाजवादी पार्टीका यादव र मगरले प्रदेश को नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग गरेका थिए ।