काठमाडौँ – धादिङमा भएको एक सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ बेतिनीमा सवारी दुर्घटना हुँदै दुई जनाको ज्यान गएको हो।
मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज गडी दिउँसो दुर्घटना हुँदा घाईते भएका ३ जना मध्ये २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेहरुमा २७ वर्षीय चालक बेगबहादुर तामाङ र ६४ वर्षीय शेरबहादुर तामाङ रहेका छन् । यस्तै सोहि दुर्घटनामा परी घाइते हुनेमा रामबहादुर तामाङ रहेका छन्।
उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
सुनसरीमा एकको मृत्यु
सुनसरी धरान उपमहानगरपालिका–१४ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय गोकुल तामाङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
धरानस्थित त्रिवेणी मार्ग भित्री सडकखण्डमा को१त ८८०१ नंको मिनी ट्र्याक्टरले को३०प १२९६ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए ।
घाईते तमाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मिनी ट्र्याक्टर र चालक तुलसी बिक प्रहरीको नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।