दसैंको चटारो सुरु हुनै लागेको छ। घरबाहिर रहेका आफन्त दसैंमा आफन्तको हातको टीका थाप्न धमाधम घर फर्किने तयारीमा छन्। कोरोना भाइरस संक्रमण यहीबेला तीव्र भइरहँदा दसैंमा घर फर्किने ती आफन्तबाट घरसम्म संक्रमण भित्रिने त्रास पनि उत्तिकै छ। संक्रमणको त्यही जोखिम कम गर्न भन्दै विभिन्न जिल्लामा घर फर्किनेलाई ‘होम क्वारेन्टिन’ राख्ने तयारी गरिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
तनहुँको जिल्ला संकट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले दसैंमा घर फर्किने जो कोहीलाइ होम क्वारेन्टिन राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै स्थानीय तहका पदाधिकारीसँग छलफल गर्दै घर फर्किनेलाई होम क्वारेन्टिन राख्ने निर्णय गरिएको हो। ‘सकेसम्म घरै नफर्किनु भनेका हौ। जो जहाँ छ, त्यही दसैं मनाउन सरकारले आग्रह गरिरहेको छ। तर, घर फर्किएको खण्डमा उनीहरुलाई गाउँ डुल्न नदिउँ, घरमै बसालौ भन्ने हो,’ आचार्यले भने, ‘पहिलेजस्तो विद्यालय र सामुदायिक भवनमा बनेका क्वारेन्टिनमा राख्ने होईन। घरकै क्वारेन्टिनमा राख्न चाहेका हांै।’
दसैंमा घर आएका आफन्त पीङ खेल्न, रमाउन, साथीभाइ छरछिमेक र आफन्त भेटघाट गर्ने भन्दै गाउँ डुल्ने गरेकाले पनि त्यो हुन नदिन होम क्वारेन्टिन अनिवार्य गरिएको प्रजिअ आचार्यले बताए। ‘विद्यालय र सामुदायिक भवनमा बनाइएका क्वारेन्टिनमा राख्ने होइन, अब त्यो सम्भव पनि छैन,’ उनले भने, ‘सकेसम्म घरै नआउनु भन्ने हो। आइहाले पनि गाउँ नडुल्न भनेका हाैं। अहिले गाउँ डुल्ने अवस्था छैन। एकजनाका कारणले समग्र समुदायलाई नै अप्ठेरोमा पार्नु हुँदैन।’ स्वास्थ्य मन्त्रालयले पनि नियमित रूपमै दसैंमा सकेसम्म जो जहाँ छ, त्यही बस्न भनिरहेकोले स्थानीय प्रशासनले पनि घरभित्रै बस्न भनेको उनले बताए।