काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जाति/भाषाको पहिचानका आधारमा प्रदेशको निर्माण नगरिएको भन्दै आक्रोश पोखेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन्।
जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै अपात्ति जनाएपछि प्रधानमन्त्रीका सल्लाहकार बाबुरामको आलोचनामा उत्रिएका हुन्।
कोरोना भाइरसको संक्रमण पछि होम आइसोलेसनमा रहेका थापाले सामाजिक संजाल मार्फत जातीय राज्य निर्माण गर्ने कुरा भट्टराईको नेतृत्वमा गठित जनसरकारको भड्कावपूर्ण अभ्यास मात्रै रहेको बताएका छन्। सोहि भड्कावका कारण नै भट्टराई अहिले जनता समाजवादी पार्टीमा आराम गरिरहेको पनि थापाले बताएका छन्।
“जनयु-द्ध जातीय रंगविरंगमा प्रवेश गर्नुअघि नै सुरेश वाग्ले र लली रोकाले जीवन उत्सर्ग गर्नुभएको थियो । अब डा. बाबुराम भट्टराईले संझिनसमेत छाड्नुभएछ । जातीय राज्य त तपाईंको नेतृत्वमा गठित जनसरकारको भड्कावपूर्ण अभ्यास मात्रै थियो । तपाईंको त्यो भड्कावले हाल जनता समाजवादी पार्टीको बिसौनीमा आराम गरिरहेको छ, होइन र ?अनि आफू कम्युनिस्ट आन्दोलन छाडेर त्यति पर पुगेपछि संझना बिर्सना लललल..जस्तो किन गर्नुभएको होला महोदय ?”,थापाले सामाजिक संजालमा लेखेका छन्।
भट्टराईले के भनेका थिए?
प्रदेश नं ५ को नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभाले पारित गरेसँगै भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै अपात्ति जनाएका थिए।
भट्टराईले प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका थिए।
“प्रदेशका नाम नदी,भूगोलको पहिचानमा मात्र राख्नपर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? यो कहाँको मार्क्सवाद,लोकतन्त्र,संघीयता हो?”,उनको प्रश्न थियो।
त्यसक्रममा भट्टराईले अन्य देशको उदाहरण पनि दिएका थिए। “अमेरिकामा अलाक्सा, अरिजोना, उताह आदि; भारतमा तामिलनाडु,बंगाल,पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?”,भट्टराईले प्रश्न गरेका थिए।
“हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘म-रेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले।।!”भट्टराईले ट्वीटरमा भनेका थिए।