काठमाडौँ – उपचारका लागि अस्पतालको चक्कर काट्दाकाट्दै एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ। दाङको राप्ती गाउँपालिका वडा नं ८ की कोरोना सङ्क्रमित ७१ वर्षीया महिलाको समयमा उचित उपचार नपाएर ज्यान गएको हो।
गत बिहीबार उपचारका लागि भैरहवा मेडिकल कलेजमा पुगेकी ती महिलालाई उपचारको क्रममा कोरोना संक्रमण भएको थियो। भैरहवा मेडिकल कलेजबाट कोरोना अस्पतालमा सार्न खोज्दा बेड नै पाइएन। जसकारण उनलाई राप्ती गाउँपालिकामा सञ्चालन भएको आइसाेलेशनमा राखियो।
उनको स्वास्थ्य थप बिग्रिँदै जाँदा थप उपचारको लागि बुटवल रेफर गरियो। उपचारको लागि उनलाई पुनः भैरहवा लगियो। तर, अस्पताल चाहार्दा चाहर्दै उनको जान गयो। अस्पतालमा बेड मिलाउँदा मिलाउँदै आमाले अस्पतालको गेटमा प्राण त्यागेको संक्रमित महिलाकी छोरी बताउँछिन्।
“अस्पतालमा बेड मिलाउँदा मिलाउँदै आमाले अस्पतालको गेटमा प्राण त्याग्नुभयो। उपचारको लागि अस्पतालमा भर्ना नै गर्न पाइँएन । अस्पताल चाहार्दा चाहर्दै आमालाई गुमाउनु पर्यो।”,उनी भन्छिन्।
संक्रमित महिलाकी छोरीका अनुसार उनकी आमामा सुगर, प्रेसर, मुटुको समस्या समेत थियो। तर एम्बुलेन्समा राखेर विभिन्न अस्पताल पुग्दै फर्किँदै गर्दा आमाको निधन भएको उनले बताइन्।
राप्ती गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक नारायण रावतका अनुसार संक्रमित महिलाको मंगलबार दिउँसो ४ बजे आसपासको समयमा निधन भएको हो।