काठमाडौँ – बुधबार नेपालमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकैदिन ३ हजार भन्दा बढी व्यक्तिमा संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए। बुधबारको थप पुष्टिसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ पुगेको छ।
गएको २४ घण्टामा नेपालभर १ हजार १ सय २६ जना कोरोना मुक्त भएका छन्। जससँगै कोरोना मुक्त हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ।
सक्रिय संक्रमित २५ हजार नाघ्यो
बुधबार अहिले सम्मकै बढी संक्रमित फेला परेसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमित संख्या २५ हजार ७ पुगेको छ।
फेरी लकडाउन ?
केहि दिन अगाडी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुन सक्ने बताएको थियो।
यस हिसाबले पुनः लकडाउन हुन सक्ने हो कि भन्ने सम्भावना बढेर गएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले केहि दिन अगाडी बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको थियो।
प्रवक्ता गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः लकडाउन गर्ने निर्णय गरेको बताएका थिए।