काठमाडौँ – शनिबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने भएको छ। जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी स्विचिङबाट विद्युत वितरण हुने विभिन्न क्षेत्रमा आज ६ घण्टा सम्म विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणले शुक्रबार एक सूचना सार्वजनिक गर्दै विभिन्न क्षेत्रमा विद्युत कटौती हुने बारे जानकारी गराएको हो। लाइनमा जोडिएका रुखका हाँगाबिँगा काट्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
विद्युत कटौती हुने क्षेत्रहरुमा मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्र रहेका छन्। ती क्षेत्रहरुमा १० बजे देखि नै विद्युत कटौती भइसकेको छ। प्राधिकरणका अनुसार विद्युत कटौती ४ बजे सम्म हुन सक्नेछ।
यस्तै बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने ढुङ्गे धारा र गाेलढुङगा फिडरमा रिङराेड विस्तार कार्यक्रम अन्तर्गत एच टी लाइन तथा पाेल सार्ने कार्य गर्नु पर्ने भएकाेले विभिन्न क्षेत्रहरुमा पनि विद्युत कटौती हुनेछ। पाेल सार्ने कार्यको लागि ११ बजे देखि विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।
त्यसअन्तर्गत विद्युत कटौती हुने क्षेत्रहरुमा ढुङगे धारा, बनस्थली, अन्नपुर्ण चाेक, फुलबारी गेट, नागार्जुन, लाेलाङ, जितपुर क्षेत्र लगायत रहेका छन्।