आर्थिक वर्षको सुरुमै ढुकुटी रित्तियो, ऋण खोज्दै सरकार !

काठमाडौँ – कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो। तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो। असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ।

आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ।

यस्तै सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ। गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ।

एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भए पछि सरकारलाई नगद व्यवस्थापनमा दवाव परेको हो। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ। राजस्व भने औषतमा दुई अर्ब मात्र छ।

गत वर्ष असोजमा पनि चालु खर्च मात्र ९७ अर्ब रुपैयाँ भएको थियो। सरकारले दसैंभन्दा १५ दिन अघिदेखि तलव र दसैं खर्च वितरण गर्न सुरु गर्छ। अहिले मन्त्रालय र कार्यालयहरुले दैनिक तलब र भत्ता वितरण गरिरहेका छन्। त्यसैले असोजको बाँकी रहेका ७ दिनमा २५ देखि ३० अर्ब रुपैयाँ थप खर्च लाग्ने अनुमान अर्थ मन्त्रालयका अधिकारीहरुको छ।

उनीहरुका अनुसार असोज मसान्तसम्म चालु र अन्य गरी सरकारको कुल खर्च २ खर्बभन्दा माथि पुग्नेछ। यो अवधिमा राजस्व एक खर्ब ८० अर्ब संकलन भए सरकारलाई करिव २० देखि २५ अर्ब रुपैयाँ नगद अपुग हुने देखिन्छ।

अघिल्ला वर्षहरुमा भने असोजअन्तमा पनि सरकार सजिलो अवस्थामा हुन्थ्यो। गत वर्ष असोजसम्म राजस्वसहितको सरकारको आम्दानी २ खर्ब एक अर्ब रुपैयाँ थियो। असोजसम्म कुल खर्च एक खर्ब ७८ अर्ब रुपैयाँ भएकाले सरकार २३ अर्ब रुपैयाँ बचतमा थियो। यो वर्षको अवस्था भने यसको ठीक विपरित हुने देखिएको छ।

अर्थ सचिव शिशिर ढुंगानाले असोजमा चालु खर्च बढी हुने र त्यहीअनुसार राजस्व उठन नसकेकाले नगद व्यवस्थापनमा सामान्य चाप परेको बताए। अघिल्ला महिनाहरुको बचतले खर्च धान्न केही सहयोग गरेको जानकारी दिंदै सचिव ढुंगानाले यो पहिले अनुमान गरेकै विषय भएको बताए। ‘सरकारको नगद व्यवस्थापन कहिले धेरै र कहिले केही कमी हुन्छ, सचिव ढुंगानाले नागरिकसँग भने ‘यो ठुलो समस्याको विषय होइन। समस्या आए सरकारसँग धेरै किसिमका औजार छन्। तीनलाई प्रयोग गरेर समस्या समाधान गर्न सकिन्छ।’

प्रकाशित : आइतबार, असोज २५, २०७७०८:४०

कोभिड–१९ संक्रमण : चार परीक्षण गर्दा एकजनामा संक्रमणको पुष्टि !