काठमाडौं – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ। आइतबार आएको परीक्षणको रिपोर्टले पोखरेलमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको हो।
शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको उनका सहयोगी विनोद न्यौपानेले जनाएका छन्।
न्यौपानेका अनुसार ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए। अहिले शिक्षामन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा रहेका छन्।
कोरोना पुष्टि भएका पोखरेलमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षणहरु पनि देखिएका छन्। बताइएअनुसार उनलाई ज्वरो आएको छ भने स्वास्थ्य अवस्था सामान्य नै छ।
शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना देखिएको थियो। पोखरेल डाक्टर गोविन्द केसीको टोलीसँग वार्तामा सहभागी पनि भएका थिए। सो बारे छलफल गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए।