काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण तिब्र बढेको भन्दै सरकारले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेको छ।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेका हुन्। ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताए।
“काठमाडौं धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत राजधानी सहर हो। तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँदैछ।”,उनले भने।
उनले कोरोना नियन्त्रणमा केही जिल्लाको प्रयास उदाहरणीय भएकाले ती जिल्लाबाट काठमाडौंले सिक्नुपर्ने बताए। ती जिल्लाहरुमा भएको व्यवस्थापन र जनप्रतिनिधिको सक्रियतालाई काठमाडौंले अनुशरण गर्नुपर्नेमा उनको जोड छ।
बाँके, कपिलवस्तु, वीरगञ्ज, उदयपुर जस्ता ठाउँले कोरोना नियन्त्रणमा उत्कृष्ट कार्य गरेको बताए। ४० लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण अनियन्त्रित बनेमा अवस्था भयावह हुने र स्वास्थ्य संरचनाले धान्न नसक्ने बताए। काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित भए भयावहस्थिति सिर्जना हुने उनमा डर छ।
“हाम्रो सामर्थ्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ। त्यसले चुनौती थपेको छ।”,उनले भने। दसैंलगायत चाडपर्वमा सचेत हुनुपर्ने उनको भनाई छ।
साथै उनले हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नराखेको भएपनि नागरिक संवेदनशील नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने बताए।