दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन। यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि हिजोआज दैनिक सयौं नागरिक मजदुरीका लागि भारत जान बाध्य भएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
‘रोजगारी नहुँदा परिवार पाल्नै समस्या भयो। त्यसैले दसैंको मुखमा मजदुरी गर्न मुम्बई जान लागेको हुँ,’ कैलाली गोदावरी नगरपालिका–१० का गोपाल विश्वकर्माले भने, ‘दसैंको मुखमा घरपरिवार छाडेर जान कसैलाई मन होला र ? बालबच्चा भोकभोकै मर्ने भएपछि बिदेसिनुपर्ने बाध्यता बन्यो।’ उनी दुई महिनाअघि मात्रै मुम्बईबाट स्वदेश फर्किएका थिए। आफ्नै ठाउँमा आयस्रोत हुने केही काम वा रोजगारी पाए नेपालमै बस्ने योजना उनले नबनाएका पनि होइनन्। तर सोचेजस्तो केही नभएपछि भारततिरै फर्कनुको विकल्प उनले भेटेनन्।
गोपाललाई जस्तै परिवार खर्च धान्न मुस्किल भएपछि दसैंको मुखमा सुदूरपश्चिमका सयौं नागरिक भारततिर गइरहेका छन्। विगतका वर्षहरूमा भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली दसैंका लागि घर फर्कनेको भीड यतिखेर सुदूरपश्चिममका मुख्य दुई नाका धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकीमा देख्न सकिन्थ्यो। दसैं घरपरिवारसँगै मनाउन पाइने भएकाले फर्कर्नेको मुहारमा बेग्लै उत्साह र उमंग देखिन्थ्यो। उनीहरू स्वदेश प्रवेश गर्दा नाकामा मात्रै होइन, बसपार्कदेखि गाउँघरसम्मै एक किसिमको रौनक छाउँथ्यो। तर यसपालि ठीक विपरीत स्थिति छ। यी नाकामा अहिले उदेक लाग्दो दृश्य देखिन्छ। भारततर्फ लागिरहेकाहरूका मुहारमा निराशा र उदासीपन झल्किएको प्रस्ट देख्न सकिन्छ।
यतिखेर भारत जानेमा युवाहरूमात्र होइनन्, काखेबालकसहितका महिलादेखि बालबालिका र वृद्धहरूसमेत छन्। भारतमा कोरोना संक्रमण सुरु भएसँगै त्रासले फागुनको अन्तिम सातादेखि नेपाली घर फर्कन थालेका थिए। त्यतिबेलातिरै सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरे पनि चैत ११ गते लकडाउन हुने बेलासम्म भारतका विभिन्न ठाउँबाट मजदुरी गरी घर फर्कनेको लाम नै लाग्ने गरेको थियो। लकडाउनसँगै नाका पनि खुलाएपछि जेठ र असारमा समेत घर फर्कनेको लर्को नै लाग्यो। कोरोना संक्रमणबाट अर्काका देशमा मर्नुभन्दा आफ्नै देशमा दुःखजिलो गरेर घरपरिवारसँगै बस्न भन्दै उनीहरू घर फर्केका थिए।

