दाहालको दौडधुप: अलगअलग परामर्शमा व्यस्त !

कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे। त्यस्तै उनले पार्टीभित्र आफू निकट नेताहरूसँग पनि अविश्वासको प्रस्ताव फिर्ता गराउने उपायका विषयमा छलफल गरे। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

दाहालले ओलीसँग बिहान ९ बजेपछि करिब सबा घन्टा छलफल गरे। स्रोतका अनुसार छलफलका क्रममा ओलीले आफूले अविश्वास प्रस्ताव फिर्ता गर्न पहल गर्ने तर प्रदेशसभाका सांसद नै निर्णायक हुने अवस्था देखिएको बताएका थिए। ‘ओलीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुमा आफ्नो संलग्नता नरहेको बताउनुभयो। उहाँले प्रस्ताव फिर्ता गर्ने विषयमा गोलमोटल कुरा गर्नुभयो, स्पष्ट जवाफ दिनुभएन’, दाहाल निकट स्रोतले भन्यो।

दाहालले भने पार्टी एकताको भावाना अनुसार कर्णाली प्रदेशमा पूर्वमाओवादी केन्द्रले मुख्यमन्त्री पाएको स्मरण गराउँदै त्यसविरुद्ध पूर्वएमाले खेमा प्रस्तुत हुँदा एकताको मर्ममा ठेस पुग्ने बताएका थिए। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको छलफलमा दाहालले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु ठीक नभएकाले त्यसलाई फिर्ता लिन पहल गर्न ओलीलाई आग्रह गरेका थिए।

ओलीको समर्थनमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्यायएको बुझाइ पूर्वमाओवादी केन्द्र पक्षको छ। तर ओलीले आफ्नो समर्थनमा यस्तो काम नभएको जबाफ दाहाललाई दिएका छन्।

प्रकाशित : मङ्गलबार, असोज २७, २०७७०९:०३

उपत्यकाका भित्री शहर र यी क्षेत्रमा उच्च संक्रमण !