काठमाडौँ – कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना महामारी फैलिने संकेत गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
राजधानीका न्युरोड, असन, कमलाक्षी, भोटाहिटी, इन्द्रचोक, हनुमानढोका, नरदेवी, यट्खा, रञ्जना गल्ली, ब्रह्मटोल, लगन, जैसिदेवल, मरु, महाबौद्ध, वीर अस्पताल, टुँडिखेल , वटु, भोटेबहाल, गणबहाल, नरदेवी, भेडासिं, किलागल, ट्यागल, लगन, भुरुङखेल, सोह्रखुट्टे, ताल्सिपाखा, मरुहिटीलगायत भित्री शहरमा कोरोना संक्रमणको वृद्धि दर उच्च छ ।
कोरोना संक्रमितको संख्या बढेर अस्पतालका आईसीयू भरिभराउ छन् । बिरामी राख्ने ठाउँ छैन । कोही बिरामी परे बाँच्ने अवस्था छैन । सरकारले कोरोनालाई सामान्य ठान्दा राजधानीमा महामारी फैलिने खतरा बढेको छ । उनीहरुको अपिल छ– ‘सरकार महामहारीबाट राजधानी जोगाऊ ।’
परिवारलाई नै कोरोना संक्रमण भएका धेरै घटना छन् । त्यो भनेको समुदायमा फैलिएको संकेत हो । भित्री शहरको अवस्था हेर्दा भयावह देखिएको छ । अधिकांश पसल खुला छन् । न व्यापारीले स्वास्थ्य मापदण्ड पूरा गरेका छन्, न त ग्राहकले नै ।
सबै वडाध्यक्षले जनतामा चेतनास्तर कमी हुँदा समस्या बढेको बताएका छन् । उनीहरुले माइकिङ गरेर, ब्यानर टाँसेर जनचेतना जगाए पनि अटेर गरेको बताएका छन् । सबै वडाले मास्क वितरण, आइसोलेसनमा बसेकालाई सेनिटाइजर तथा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गरिरहेका छन् ।
पछिल्लो एक साता यता राजधानीको भित्री शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । भित्री शहरमा झन्डै ३ हजारको हाराहारीमा संक्रमित देखिएको छ । देखिने क्रम जारी पनि छ । त्यतिकै संख्यामा कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गरिरहेका छन् ।
भित्री शहरको पछिल्लो अवस्थाबारे वडाध्यक्षले भन्ने गरेका छन्– ‘अति भयो अब जोगिन सक्ने अवस्था नआउन पनि सक्छ । त्यसैले घरमा बस्ने, कोरोना संक्रमणलाई पराजित गर्ने नै हो ।’ विकराल अवस्थामा देखिएको संक्रमणबाट बच्न वडाले गर्नुपर्ने कामबारे वडाध्यक्षहरुको धारणा यस्तो छ ।