काठमाडौँमा कोरोना संक्रमितले अस्पतालमा बेड पाउनै छाडे !

काठमाडौं । राजधानीका अस्पतालमा कोरोना संक्रमण देखिएर बिरामीले अस्पतालमा बेड पाउन छाडेका छन् । होम आइसोलेसनमा बसेका विरामीलाई समस्या आउन थालेपछि अस्पताल भर्ना हुन खोज्दा बेड पाउन छाडेका हुन् । होम आइसोलेसनमा बसेका बानेश्वरका ५३ वर्षीया पुरुषलाई अचानक ज्वरो र श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना हुन खोजे ।

उनका आफन्तले सुरुमा पाटन अस्पतालमा फोन गरे । तर अस्पतालका कर्मचारीले कोभिडसम्बन्धी बेड खाली नभएको जवाफ दिए । त्यसपछि वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा समेत फोन गरेर बुझे । त्यहाबाट पनि बेड खाली नभएको जवाफ आयो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सरकारी अस्पतालमा बेड नपाएपछि निजी अस्पतालमा बेड पाउने उनीहरूले आशा राखेका थिए । त्यसपछि उनीहरूले केही निजी अस्पतालमा समेत फोन घुमाए । तर, त्यहाँ पनि बेड पाउन सकेनन् । उनीजस्तै धेरै फोन अस्पतालमा आउने गरेको टेकु अस्पतालले जानकारी दिएको छ । दैनिक कैयौँ फोनहरू आउँछन् । सबैले बेड रहे नरहेको सोध्ने गरेका छन् । सबैलाई एउटै जवाफ दिनुपरिरहेको अस्पतालले जनाएको छ ।

होम आइसोलेसनमा बसेकालाई समस्या भएपछि अस्पताल लैजान निक्कै मुस्किल परेको गुनासो गरिरहेका छन् । बागमती प्रदेशमा अहिले सरकारी र निजी अस्पताल गरी १ सय ९५ आइसियु र ८८ भेन्टिलेटर रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सोमबार दिउँसो दुई बजेसम्म आइसियुमा १ सय ५ र भेन्टिलेटरमा ४१ जना रहेको र बाँकी खाली रहेको दाबी गरेको छ ।

काठमाडौं उपत्यकामा सोमबारसम्म करिब २० हजार सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये काठमाडौंमा १५ हजार ७ सय ४५, ललितपुरमा २ हजार ४ सय ४१ र भक्तपुरमा १ हजार ३ सय ४७ सक्रिय संक्रमित रहेका हुन् । बागमती प्रदेशमा सक्रिय रहेका २२ हजार ३ सय ४३ मध्ये १३ हजार ४ सय ८९ जना होम आइसोलेसनमा छन् । अस्पतालमै भर्ना भएका संक्रमित आइसियुका लागि प्रतिक्षामा बस्नेहरूको संख्या ठूलो छ ।

टेकुका २० बेडको आइसियु र ६ बेडको भेल्टिलेटर दुबै भरिएको छ । वीर अस्पतालका १० वटा आइसियु बेड, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ विशेष अस्पतालमा कोरोना संक्रमित लागि आइसोलेसन, आइसियु र भेन्टिलेटरसहित दुई सयवटा बेड छुट्याएकोमा सबै भरिएको छ । यसैगरी, पाटनमा २१ वटा ‘आइसियु बेड र १४ वटा भेन्टिलेटर, त्रिवि शिक्षण अस्पतालका १० वटा आइसियु र ६ वटा भेन्टिलेटर पनि भरिएको छ ।

प्रकाशित : मङ्गलबार, असोज २७, २०७७१०:०२

छानबिनमा डनहरु