लालिगाका अधक्ष्य जेभियर टेबासले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गत ट्रान्सफर विन्डोमा क्लब नछाडेकोमा आफू निकै खुसी र निकै राहत महसुस गरेको कुरा खुलासा गरेका छन्। ३३ वर्षीय अर्जेन्टिनी कप्तान गत सिजनको अन्त्यमा बार्सिलोना छाड्ने कोशिस गरेका थिए। इन्टर वा म्यानचेस्टर सिटी उनको सम्भावित क्लबको रूपमा हेरिन थालिसकेको थियो।
तर बार्सिलोना कप्तान क्लब छाड्न सक्षम रहेनन् र अन्तत उनी क्याम्प नाउ मै रहने निर्णय गरे, जुन क्याटालान क्लबको लागि मात्र नभएर लालिगा सान्टान्डर ब्रान्डको लागि खुशीको खबर थियो।
“मलाई स्पेनमा मेस्सी खेलिरहेको देख्न मन पर्छ,” इटालियन प्रकाशन ला गजेटा डेल्लो स्पोर्टले आयोजना गरेको गालामा टेबासले भने, “मेस्सी पैसा कमाउने मेसिन हो।”
“हामी बर्षौंदेखि मेस्सी र क्रिस्टियानो रोनाल्डोको निकासको तयारी गर्दैछौं ताकि यसले आर्थिक आघात नपरोस्। नेमार पेरिस सेन्ट-जर्मनमा गए र फ्रान्सेली लिग अन्तर्राष्ट्रिय स्तरमा बढ्न सकेन। क्रिस्टियानो टुरिन गए [जुभेन्टसमा सम्मिलित हुन] र सेरी ए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्न सकेन।” टेबासले भने।
मेस्सीको बहिर्गमनले निस्सन्देह लालिगा सान्टान्डरको लागि घाटाको कुरा हो तर उक्त कुराले यस ब्रान्डको लागि विपत्ति नै हुने कुरा भने उनले अस्वीकार गरे।
“खेलाडीहरू महत्त्वपूर्ण छन् तर खेलाडी नै सबै कुरा पनि हैन। क्रिस्टियानो र नेइमारले छोडे तर पनि हामी अघि बढ्दै गयौं। यो हामीले लालिगा सान्टान्डर ब्रान्डको विकास गर्न गरेको कार्यको कारण हो। एक खेलाडीले पूर्ण लिगलाई रूपान्तरण गर्न सक्दैन।” टेबास भन्छन्।
टेबासको यो सिद्धान्तले कस्तो काम गर्छ भन्ने कुरा छिटै देख्न सकिन्छ, विशेषगरी लियोनल मेस्सीले २०२१ मा बार्सिलोना छाडे भने जुन अहिलेको समयमा उच्च सम्भावित देखिन्छ।