छानबिनमा डनहरु

काठमाडौं – गत वर्ष तिहारको लक्ष्मीपूजाको दिन महाराजगञ्जस्थित जुवाखालबाट २५ जना जुवाडेहरु पक्राउ परे । उनीहरुबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भयो । जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरु कतिपय नाम चलेका व्यवसायीहरुसमेत थिए । पैसा र व्यक्तिको हिसाबले यो वर्षकै ठूलो जुवाकाण्ड बन्न पुग्यो र ठूलै चर्चा भयो । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ।

जुवाखालबाट उच्च राजनीतिक पहुँच भएका पावरफुल व्यक्तिहरु पक्राउ परेकाले प्रहरीमा पनि अत्याधिक चलखेल भयो । तर, प्रहरीले उनीहरुलाई करिब तीन साता थुनामा राखेर मुद्दा मात्र चलाएन, पछि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पठायो । विभागले पनि लामो समय २५ जनालाई नै थुनामा राखेर बयान लिई धरौटी लिएर छाड्यो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभागले २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उनीहरुमध्ये गणेश लामालाई आशिंक रुपमा दोषी ठहर भएपनि अरुले सफाई पाएका थिए । तत्कालिन फोरम तथा हाल नेपाली कांग्रेसका नेतासमेत रहेका लामा र सरकारले हालेको पुनरावेदन सर्वोच्च अदालतले २०७६ पुस २२ गते फाइल मगाउने आदेश गर्दै मुद्दा सुरु गरेपनि अघि बढ्न सकेको छैन ।

पक्राउ परेकामध्ये बलराम सापकोटा ‘बले’ एक महिना थुनामा बसेपछि ४५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । उनै बलेलाई गत साता विभागले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसँगै पक्राउ परेका अन्य भने आफ्नो उजुरी तामेलीमा राख्ने प्रयासमा छन् ।

बलेसँग १७ करोड ५२ लाख ७७ हजार दुई सय ६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित विभागले मुद्दा दायर गरेको हो । त्यस्तै, उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध समेत मुद्दा दायर भएको छ । श्रीमतीलाई दुई करोड ५८ लाख ६४ हजार सात ४४ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुको करोडौंको सम्पत्ति समेत जफतको माग विभागले गरेको छ ।

जुवा र गुन्डागर्दीबाट सापकोटाले यो सम्पत्ति जोडेको विभागको दाबी छ । पञ्चकन्या हाउजिङ, भेगास सिटीमा रहेका फ्ल्याट, उनको गाडी र बैंक खातामा रहेको रुपैयाँ जफतको मागदाबीसहित मुद्दा दायर भएको विभागले जनाएको छ । काठमाडौं, झापा तथा काभ्रेमा रहेको जग्गा समेत जफतको माग गरिएको छ ।

सापकोटा क्यासिनो किङका नामले परिचित छन् । क्यासिनोमा सामान्य कर्मचारीबाट उनले करोडौं सम्पत्ति जोडेका थिए । त्यही पैसा उनले विभिन्न ठाउँमा लगानी गरेको विभागको दाबी छ । हालै झापामा खुलेको पाँचतारे होटलमा पनि उनको लगानी रहेको बताइएको छ ।

बलेसँगै पक्राउ परेका पर्यटन व्यवसायी पवित्र कुमार कार्की, ठेकदार रामबहादुर गौतम, इन्द्र श्रेष्ठ, अशोक श्रेष्ठ, पवन गुप्ता, श्रवण गोयल, शोयल कार्की, कृष्णहरी भण्डारी, गेन्जे लामा लगायतको पनि छानबिन भइरहेको छ । उनीहरुमध्ये अधिकाशंका मुद्दा तामेलीमा राख्न गोप्य चलखेल भइरहेको स्रोत बताउँछ ।

अन्य गुन्डा नाइकेहरुविरुद्ध पनि विभागमा उजुरी परेको छ । अजय श्रेष्ठ, मिनकृष्ण महर्जन लगायत विरुद्ध उजुरी परेपनि विभागले छानबिनमा चासो दिएको छैन ।

प्रकाशित : मङ्गलबार, असोज २७, २०७७१२:१९

नेपाललाई चीनले उचाल्यो भन्थे, अब नेपाल आउने भए !