जग्गा किन्ने बहानामा ज्यान लिने तीन पक्राउ !

काठमाडौँ – जग्गा किन्ने बहानामा लुटपाट गरी ज्यान लिएर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत बुधबार जग्गा किन्ने बहानामा लुटपाट गरी भागेका तीन जनालाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन् । पक्राउ परेका मध्ये कामी लामा मुख्य योजनाकार रहेको खुलेको छ। प्रहरीका अनुसार कामी लामा र ज्वाला तामाङ भनिने रमेश तामाङ सिन्धुपाल्चोकका हुन् भने प्रेम तामाङ रामेछापका रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६ सय रुपैयाँ नगद र एक तोला दुई लाल सुन बरामद गरेको छ।

के हो घटना ?

गत बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका ८ काे सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनलाई जग्गा किन्ने बहानामा दुई जनाले कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लिएर फरार भएका थिए ।

उनीहरुको कुटाईबाट घाइते भएका योञ्जनको बुधबार नै उपचारका क्रममा ज्यान गएको थियो। जसपश्चात प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो। प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन्।

प्रकाशित : मङ्गलबार, असोज २७, २०७७१४:१८

“सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको छ”