काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यवस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री भट्टले कोरोना महामारीका बाबजुत पनि नेपालमा मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका हुन्।
मन्त्री भट्टले कोरोना महामारीको अवस्थामा पनि नेपालमा एकाध वस्तु वाहेक खाद्यान्न लगाएत अन्य खाद्य वस्तु महङ्गो नभएको दावी गरे। केही वस्तु बाहेक दैनिक रुपमा प्रयोगमा आउने वस्तुहरुमा खासै मूल्यवृद्धि नभएको उनको दावी छ।
“अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ। त्यसैले कहिँ पनि समस्या आएको छैन्। केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँग्याई भन्ने छैन। अव एकाध वस्तुमा हुने स्वभाविक हो। हिजो पनि हुन्थ्यो।”,उनले भने।
वर्तमान परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा विषयमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उनले बताए। व्यापार घाटा घटाउने, निर्यातलाई बढाउने र लगानी भित्राउने विषयमा आफूहरु केन्द्रित भएको उनले जानकारी गराए।
साथै उनले आन्तरिक उत्पादनलाई बढावा दिनका लागि सरकारले कच्चा पदार्थको करको दर क्रमश घटाउदै लगेको पनि बताए।