काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ लाई कोरोना पुष्टि भइसकेको छ । तीमध्ये करिब ३६ हजार सक्रिय संक्रमित छन् । ‘दसैंमा गाउँ गई अरूलाई पनि संक्रमित बनाएर सहर फर्कंदा स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सहरमा मात्रै केन्द्रित संक्रमण गाउँमा फैलिँदा अलि चुनौती हुन सक्ने देखेर व्यवस्थापनमा जुटिरहेका छौं ।’ उनका अनुसार अहिले आईसीयू र भेन्टिलेटर मात्रै अभाव छ । ‘जनरल बेड खाली नै छन् तर अवस्था बिग्रियो भने बेड अभाव हुने देखेर सतर्कता अपनाइसकेका छौं,’ उनले भने ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चाडबाडका बेला बढ्न सक्ने संक्रमितलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई ‘कोभिड डेडिकेटेड’ मा रूपान्तरण गरिसकेको बताए । ‘पहिलो चरणमा सरकारी संरचनाबाटै संक्रमितको उपचार गर्न यो निर्णय गरेका हौं,’ उनले भने, ‘हाम्रो संरचनाले नभ्याउने भए निजी अस्पताल र मेडिकल कलेजलाई प्रयोग गर्छौं ।’
मिर्गौला, मुटुरोग, बालरोग, मानसिक रोगका अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालमा रूपान्तरण गरिएको छ । मुटुरोग लागेकालाई कोरोना भए यसकै उपचार गर्ने गंगालाल, बालरोगसमेत भएकालाई कान्तिमा राख्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । आईसीयू र भेन्टिलेटरको संख्या पनि क्रमशः बढाइरहेको ढकालले बताए । संक्रमण देखिएपछि मात्रै करिब तीन सय भेन्टिलेटर र एक हजारभन्दा बढी आईसीयू थपिएको उनको भनाइ छ ।