काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले १२औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तीन मन्त्री थप र दुईको जिम्मेवारी हेरफेर गर्दै उनले मन्त्रिपरिषद् २५ सदस्यीय बनाएका हुन् । लामो समयको विवाद मिल्न नसकेपछि प्रधानमन्त्रीले आफू निकट मानिएका तीन नेतालाई बुधबार अपरान्ह मन्त्री बनाएका हुन् । अर्थ मन्त्रालयमा पार्टी महासचिवसमेत रहेका विष्णु पौडेललाई जिम्मेवारी दिएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका हुन् । तीनै जनालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्री नियुक्ति गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यसैगरी प्रधानमन्त्री ओलीले दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । सेनासँगको सम्बन्ध चिसिएको र मेडिकल सामाग्री खरिद प्रकरणमा समेत नाम जोडिएपछि उनलाई प्रधानमन्त्री कार्यालय तानिएको हो । यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालिरहेका पार्वत गुरुङलाई भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री पौडेलले यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उनी सफल अर्थमन्त्रीका रूपमा स्थापित भएका थिए । डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि ओलीको रोजाइमा पौडेल परेका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले पौडेलको नाममा समर्थन जनाएको यसअघि नै चर्चा चलिसकेको थियो ।
पोखरेललाई प्रधानमन्त्री कार्यालय तानियो
प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्ति गर्दा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भने सरप्राइज दिएका छन् । धेरैको अनुमान विपरीत उनले पोखरेललाई उपप्रधानमन्त्री पदमा यथावत राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका हुन् । उनको अढाई वर्षे कार्यकालमा आर्थिक पाटोमा बारम्बार नाम जोडिएर आएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
विशेषगरी सेनासँगको सम्बन्ध, मेडिकल सामाग्री खरिद प्रकरण, कोरोना नियन्त्रणका लागि पछिल्लो समय खेलेको भूमिकाका विषयमा असन्तुष्टि जनाउँदै पोखरेलले सम्हालेको रक्षा मन्त्रालय आफैँसँग राखेका छन् । पोखरेललाई सबै मन्त्रालयको संयोजन गर्नका लागि मन्त्रिपरिषद्को कार्यालय तानिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
अन्तरमन्त्रालय काममा ढिलाइ हुँदा विकास निर्माणका काम प्रभावित भएका र कतिपय कामका लागि कैयौँ साता कुर्नुपर्ने हुन्छ । त्यसमा ढिलाइ नहोस् र अन्तर मन्त्रालयबीचको सम्बन्ध राम्रो बनोस् भनेर प्रधानमन्त्री ओलीले पोखरेलसँगको सल्लाहमा नै ल्याएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हाल्दा नै पोखरेललाई मन्त्रिपरिषद्को कार्यालयमा ल्याउन खोजेका थिए ।
तर, त्यस बेला नमानेपछि त्यत्तिकै रोकिएको थियो । पछिल्लो समय विवादमा पनि मुछिएको र प्रधानमन्त्रीको पुरानो चाहना पनि पुरा हुने भएपछि उनलाई त्यहाँ तानिएको हो । रिक्त रहेको रक्षा मन्त्रालय भने अहिले प्रधानमन्त्री ओलीले नै राखेका छन् ।
स्रोतका अनुसार तिहारपछि मन्त्रिपरिषद् पुनर्गठन भए अहिले रहेका तीन राज्य मन्त्रीलाई हटाएर रक्षा मन्त्री नियुक्त गर्ने सम्भावना पनि प्रवल रहेको छ ।