काठमाडौँ – नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले भारतका सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्य बन्द गर्न माग गरेको छ।
भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मुकुन्द नरावणे नेपाल आउन लागेको खबर बाहिरिएसँगै नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले एक विज्ञप्ति जारी गरेर मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन बन्द गर्न माग गरेको हो।
सङ्गठनका महासचिव व्यापक नेपाली नेपाल र भारतका सेनाध्यक्षलाई एकअर्का देशको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने व्यवस्था कुनै सरल विषय नभई दास प्रवृत्तिस्वरूप उत्पन्न भएको प्रचलन मात्र भएको बताएका छन्। यस्तो प्रचलनले परस्पर व्यावहारिकतामा धेरै असर पार्ने, नेपाली सैन्य शक्तिको मनोबल गिराउने उनको बुझाई छ।
“नेपाल र भारतका सेनाध्यक्षलाई एक अर्का देशको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने व्यवस्था कुनै सरल विषय नभई दास प्रवृतिस्वरुप उत्पन्न भएको प्रचलनमात्र हो । इतिहासको विभिन्न कालखण्डमा यु-द्धसमेत लडेर आएका यी देशहरुबीच रहेको यस्तो प्रचलनले परस्पर व्यवहारिकतामा धेरै असर पार्दछ । यसले नेपाली सैन्य शक्तिको मनोवल गिराउने कार्य गर्दछ । तसर्थ, नेपाल सरकारले अव उप्रान्त भारतका सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नेजस्ता अनावश्यक र घातक प्रचलनलाई बन्द गर्नुपर्दछ।”,विज्ञप्ति जारी गर्दै नेपालीले भनेका छन्।
सन् १९६२ देखि भारतले कब्जा गरेको लिम्पियाधुरासहितको नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरेपछि गलत टिप्पणी गरेका नरावणेलाई नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजान दबाव दिइनुपर्ने सङ्गठनका महासचिव व्यापक नेपालीको बुझाई छ।
“सन् १९६२ देखि भारतले कब्जा गरेको लिम्पियाधुरासहितको नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक भएपछि नेपालको परराष्ट्र मन्त्रालयले विभिन्न तहमा वार्ता गर्न पहल गर्दा अस्वीकार गरेको भारतले सैन्य कूटनीति (Military Diplomacy) लाई स्वीकारेर नेपालको नक्साकै विषयमा गलत टिप्पणी गरेका नरावणेलाई पठाएको स्थितिमा तत्काल मिचिएको भूमि छोड्न दबाब दिनुपर्छ । नेपाली सेनाका प्रधानसेनापतिबाट नेपाली भूमिमा रहेको विदेशी सेनालाई कुशलतापूर्वक बिदा गर्ने ऐतिहासिक अवसरको नेतृत्व हुनेछ भन्ने विश्वास गर्छौं ।”,विज्ञप्तिमा उनले भनेका छन्।
साथै उनले गोरखा भर्ति तत्काल बन्द गर्न र भारत तथा बेलायतमा रहेकाहरुलाई नेपाली सेनामा भर्ति गर्न माग पनि गरेका छन्।