नवनियुक्त अर्थमन्त्रीले कर्मचारीहरुलाई भने – ‘राजस्व संकलनमा ध्यान दिनुस्’

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयका कर्मचारीहरुलाई राजस्व संकलनमा ध्यान दिन निर्देशन दिएका छन्।

बिहिबार पदभारग्रहण गरेपश्चात मन्त्रालयका कर्मचारीहरुलाई पौडेलले चालु आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलन र वैदेशिक सहायता परिचालनको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिएका हुन्।

राजस्व संकलनको लक्ष्य र वैदेशिक सहायता परिचालनको लक्ष्य नभेट्टाउँदा अर्थतन्त्र चलाउन नै कठिन हुने बताए। कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै काम गर्न उनको निर्देशन छ।

पौडेलले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने पनि बताएका छन्। लगानी अभृद्धि गराइ रोजगारी सिर्जना गर्ने कुरामा पनि निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न उनले निर्देशन दिए।

कानुनको परिपालना गरी नियामकीय भूमिका बलियो बनाउने कुरा र लगानी अभृद्धि गराइ रोजगारी सिर्जना गर्ने कुरा दुवै परस्पर रुपमा अगाडी बढ्नुपर्ने उनको भनाई छ।

“एकातिर कानुनको परिपालना गराउने र नियामकीय भूमिका बलियो बनाउनुपर्नेछ भने अर्कोतिर लगानी अभृद्धि गराइ रोजगारी सिर्जना गर्ने कुरामा पनि निजी क्षेत्रको मनोबल बढाउने गरी सन्तुलन कायम गर्नुपर्नेछ।”,उनले भने।

यस्तै मन्त्री पौडेलले आफूलाई शासक नभइ साथी ठान्न पनि कर्मचारीहरुलाई आग्रह गरेका छन्। आइपरेका समस्या बारे सँगै छलफल गरेर समाधान खोज्ने कुरामा आफ्नो जोड रहने उनले स्पष्ट पारे।

उनले भने,”म तपाईंहरूसँग रुखो र कठोर शासक भएर होइन, तपाईंहरूसँग मामिलाहरूमा जीवन्त ढंगले छलफल गर्दै समस्यामा सँगै प्रवेश गर्ने र सँगै समाधान खोज्ने कार्यशैलीका साथ म प्रस्तुत हुन चाहन्छु।”

प्रकाशित : बिहिबार, असोज २९, २०७७१६:२३

२४ घण्टा सम्म पनि डाक्टर आएनन्, फुलमतीले वीर अस्पतालमा उपचार नपाएरै प्राण त्यागिन् !