काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमणका लक्षण सहितका बिरामी बढ्न थालेसँगै मृ-त्युदर पनि बढेको छ। बिहिबार मात्रै नेपालमा १९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन्।
पछिल्ला महिनाहरुमा भन्दा असोज महिनामा अकोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको छ। यस हप्ता मात्रै नेपालमा ८० जनाले ज्यान गुमाएका छन्। आइतबार देखि बिहिबार सम्म ज्यान गुमाउनेको संख्या ८० पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस हप्ताको सबै भन्दा धेरै आइतबार २२ जनाको ज्यान गएको थियो। उक्त संख्या अहिले सम्मकै उच्च हो। नेपालमा सोमबार ९ जना र मंगलबार १८ जनाले ज्यान गुमाएका थिए। यस्तै नेपालमा १२ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको थियो।
बिहिबारको पछिल्लो तथ्यांक अनुसार नेपालमा ज्यान गुमाउने कोरोना भाइरस संक्रमितको संख्या करिब ७ सय पुगिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।
तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । आज १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।
यसैगरी काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा आज एक हजार ९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहेका छन् । कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उनले जानकारी दिए ।