काठमाडौं – गोर्खा बु्रअरीद्वारा उत्पादित विभिन्न ब्रान्डका बियर मापदण्डविपरीत रहेको पाइएको छ । सो कम्पनीले उत्पादन गरेका बियरले जनस्वास्थ्यमा गम्भीर असर गरेको पाइएको छ । नेपालको चर्चित औद्योगिक घराना खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरी बिक्रीवितरण गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
मापदण्डविपरीत उत्पादन गरिएको बियरले जनस्वास्थ्यमा गम्भीर असर गरेको पाइएपछि विभागले बियरका रूपमा बजारमा बिक्रीवितरण गर्न रोक लगाएको बताएको छ । विभागले उक्त कम्पनीको बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीका मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी गरेकाले कडा कारबाही गर्न उपभोक्ताले माग गरेका छन ।
बियर पारखी दिनेश श्रेष्ठले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउनसमेत सरकारसँग माग गर्नुभएको छ । उहाँले जनस्वास्थ्यमाथि खेलबाड गर्नेलाई हदैसम्मको कारबाही गर्न पनि माग गर्नुभएको छ । बियरमा जौको मात्रा ५० प्रतिशत हुनुपर्ने प्रावधान रहे पनि सो कम्पनीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागले जनाएको छ ।
गोर्खा ब्रुअरीले उत्पादन गरेको काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोग नगर्नसमेत विभागले आग्रह गरेको छ । विभागका अधिकारीका अनुसार गोर्खा ब्रुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरबाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने बताइएको छ । लकडाउनका बेला अनुुगमन नहुने र दशैंको समयमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको बताइएको छ ।
अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्र लिनेले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा उल्लेख गरिएको छ ।
आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी बन्द गराएर अनुसन्धान गरेपछि कम्पनीको बदमासी सार्वजनिक भएको छ । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपियाँ निर्धारण गरेको छ ।
गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १ सय ६५ रुपियाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपियाँ कायम गरिएको विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक शिवादेवी दाहालले माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनअनुसार प्रतिलिटर ४ सय ३० रुपियाँ तिर्नुुपर्ने बताउनुभयो । कम्पनीका केही ब्रान्डमा समस्या रहे सोहीअनुुरूप कारबाही हुने उहाँले जानकारी दिनुभयो ।