काठमाडौँ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा भन्दा पनि काम गरेर देखाउन चुनौती दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार गरेको आरोप खारेज गरेपछि भट्टराइको सामाजिक संजाल मार्फत यस्तो चुनौती दिएका हुन्।
शुक्रबार बिहान प्रधानमन्त्री ओलीले ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको बताएका थिए भने उनले भट्टराईले लगाएको आरोपलाई खारेज गरेका थिए।
“केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु। निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु।”,ओलीले भनेका थिए,”हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायी हुन सक्दैनौं। देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा र त्यस्ता हर्कत हामी गर्न सक्दैनौं।”
प्रधानमन्त्रीको तर्फबाट यस्तो जवाफ आएपछि ट्वीट गर्दै भट्टराईले भ्रष्टाचारप्रति साँच्चै शुन्यसहनशीलता हो भने सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानवीन गर्न कसले रोकेको हो भनेर प्रश्न गरेका छन्।
“प्रमको भ्रष्टाचारप्रति साँच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाँटको कुरा खाई पत्याउनु।।।!”,ट्वीट गर्दै उनले भनेका छन्