“दशैँमा मान्न घर जाने सैनिकलाई सेनाले आफ्नै जहाज-हेलिकप्टरमा घर पुर्याइदिने”

काठमाडौँ – दशैँमा मान्न घर जाने सैनिकहरुलाई नेपाली सेनाले आफैं पुर्याइदिने भएको छ। सार्वजनिक यातायातबाट जाँदा कोरोना सर्न सक्ने भन्दै नेपाली सेनाले दशैँमा मान्न घर जाने सैनिकहरुलाई घर पुर्याउने व्यवस्था गर्न लागेको हो।

सेनाले आफ्नै जहाज, हेलिकोप्टर र बस मार्फत जान चाहनेलाई दशैँ मान्न पुर्याइदिने व्यवस्था गर्न लागेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

सेनाहरुलाई घर पुर्याउन अवस्था हेरेर व्यवस्थापन गरिने उनको भनाई छ। गाडी जाने ठाउँमा गाडी, गाडी नजाने ठाउँमा जहाज र हेलिकप्टर प्रयोग गरिने पौडेलको भनाई छ।

“कोरोना जोखिमको समय छ। सार्वजनिक सवारीमा घर जाँदा आउँदा समस्या भएकोले आफ्नै सवारी मार्फत घर पुर्याउने व्यवस्था गर्न लागेका हौं।”,उनले भने,”गाडी जाने ठाउँमा गाडीमै र जहाजको पहुँच भएका क्षेत्रमा जहाज मार्फत तथा उच्च पहाडी क्षेत्रमा हेलिकोप्टर मार्फत घर पुर्याउने तयारीमा जुटेका छौँ।”

दशैँमा मान्न घर जाने सैनिकहरुको लागि मात्रै यस्तो व्यवस्था गर्न लागिएको पौडेलले बताए। नेपाली सेनाले यस विषयमा तयारी शुरु गरिसकेको छ। पौडेलका अनुसार बिदामा बस्ने सेनाहरूको विवरण र कुन सवारी मार्फत घर जान मिल्ने भनेर सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले आवश्यक तयारी गरिरहेको छ।

यस्तै बिदा सकेर ब्यारेक फर्कने सेनालाई पनि आफ्नै सवारीमा फिर्ता ल्याउने तयारी छ। त्यसरी फिर्ता आउने सैनिकहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ भने पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ रिपोर्ट आएपछि काममा फर्किने पाउनेछन्।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७१४:३६

‘शिव-ब्रम्हानै आएपनि ५ लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्’