काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा ५ लाख मेट्रिक टन मल ल्याउन कुनै पनि हालतमा असम्भव भएको बताएका छन्।
शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालको अवस्थामा शिव र ब्रम्हाजी नै आएपनि पाँच लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन्। अहिलेको व्यवस्था र तरिकाले कलकत्ताको पोस्टबाट दिन-दिनै आउने ट्रेन भए मात्र ५ लाख मेट्रिक टन मल ल्याउन सकिने उनको भनाई छ।
“अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी वा ब्रम्हाजी आए भने पनि सक्दैनन्। कलकत्ताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउनका लागि कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ।”,उनले भने।
यस्तै उनले प्रांगारिक खेतीतर्फ जोड दिनु पर्ने पनि बताएका छन्। वर्षेनी कृषि उपजको आयात उच्च हुने हो भने कृषि प्रधान भनेर चिनिने देशलाई कृषि उपज आयात गर्ने देश भनेर चिनिने बताउँदै उनले रासायनिक खेती गरेर पनि उत्पादन नबढकोले अब प्रांगारिक खेतीतर्फ नै जोड दिनुपर्ने उनले बताए।
मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए। कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव हुने उनको भनाई छ।