काठमाडौं । कर्णाली प्रदेशमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद तत्काल समाधान नहुने देखिएको छ । प्रदेशमा कुनै निष्कर्ष निकाल्न नसकेपछि केन्द्र बोलाइएका दुवै पक्षलाई विवाद कसरी मिलाउने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै विवाद देखिएको छ ।
यद्यपि, उनीहरूले आफूहरूले यो विवाद मिलाउने आश्वासन दुवै पक्षलाई दिएका छन् । तर, विवाद कसरी र कहिले मिलाउने भन्ने कुनै आश्वासन पाएका छैनन् । मुख्यमन्त्रीसमेत रहेका प्रदेशका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीभित्र अविश्वासको प्रस्ताव दर्ता भएपछि विवाद चुलिएको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
पार्टी अध्यक्षद्वयबीच विवाद देखिएकाले कर्णाली विवाद पनि तत्काल साम्य हुनेमा आशंका व्यक्त गरिएको छ । दाहालले यसअघि नै दुई समूहलाई छुट्टाछुट्टै भेटेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले दुवै पक्षलाई संयुक्त रूपमा बोलाएका थिए । त्यसमा सहभागी हुन कार्यकारी अध्यक्ष दाहाललाई बोलाए पनि सहभागी नभएको एक नेताले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो दुवै पक्षको कुरा सुनेका ओलीले कर्णालीका नेताहरूलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् । छलफलमा मुख्यमन्त्री शाही र उनीविरुद्ध हस्ताक्षर अभियान चलाएका यामलाल कँडेलसमूह उपस्थित थिए ।
मुख्यमन्त्री शाहीकै अगाडि कँडेलले आफूले प्रस्ताव ल्याउनुको कारण डेढ घण्टा लगाएर राखेका थिए । उनले केन्द्रको अन्तरपार्टी निर्देशनले नै पक्षधरता तोडौँ, सामूहिक हितमा, पार्टी हितमा काम गरौँ भनेकाले त्यही विषय राख्न आपूmले प्रस्ताव ल्याएको बताएका थिए ।
‘दुःखको कुरा निर्देशन जारी गर्नेहरू नै तोडिएको पक्षधरतालाई कायम राख्नका निम्ति गलत बाटो र तरिका अनुशरण गरिरहनुभएको छ । त्यो कुरा खेदजनक छ । कर्णाली प्रदेशमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन जना माननीयहरूलाई ‘लालगद्दार’ भनेर पोस्टर बनाइएको छ’, उनले बैठकमा राखेको कुरा सुनाउँदै भने, ‘यही हो त नेकपाभित्रको आन्तरिक लोकतन्त्र ? के नेकपा फौजी पार्टी हो ? नेकपासँग लालसेना जीवित छ ? फरक मत राख्नेलाई गद्धार भन्ने हो भने फरक मत राख्न कसले हिम्मत गर्छ ?’ त्यसप्रति प्रधानमन्त्री गम्भीर भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले यसविषयमा चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए । ‘तपाईंहरूले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौँ’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले भने ।
उनका अनुसार, ओलीले पार्टीका अर्का अध्यक्ष दाहालसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए । यस्तै कर्णालीका इन्चार्ज जनार्दन शर्मा भने स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जानकारी पठाएका थिए । बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरू प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आआफ्नो धारणा राखेका थिए । ‘सबैको कुरा सुनेपछि प्रधानमन्त्रीले अब तपाईंहरू कर्णालीतिरै फर्कनुहोस् । हामी चाँडै निर्णय सुनाउँछौ भन्नुभयो’, ती नेताले भने ।
नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो ।
तर, माधवकुमार नेपाल खेमाका नेताहरू अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् भने कर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।