काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य डा भीम रावलले दसैँ पेस्की फिर्ता गर्ने भएका छन्। रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका हुन्।
कोरोना महामारीको अवस्थामा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा समर्थन जनाउँदै नेता रावलले खातामा गइसकेको रकम फिर्ता गर्ने बताएका छन्।
नेता रावलले ट्वीट गर्दो कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग पनि गरेका छन्। दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने उनको भनाई छ।
“खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।”,रावलले ट्वीट गर्दै भनेका छन्,”दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन ।”
यस अगाडी नेकपाकै राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने दसैँ पेस्की नलिने घोषणा गरेका थिए। नेता श्रेष्ठले दसैँ पेस्की मात्र नभई उनले चैतयता तलब पनि लिएका छैनन्।
कोरोना महामारीका कारण देश आर्थिक चपेटामा परेको भन्दा उनले दसैँ भत्ता तथा चैतयताको तलब नलिएका हुन्। यस सम्बन्धमा श्रेष्ठले यस अगाडी नै घोषणा गरेका थिए।
श्रेष्ठले केहि महिना अगाडी कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए ।