काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सांसदलाई दसैं भत्ता दिने रकम भेन्टिलेटर किन्नमा खर्च गर्नुपर्ने बताएका छन्।
सांसद शर्माले एक ट्वीट गर्दै देश कोरोना भाइरसको महामारीसंग लडिरहेका बेला संघीय सांसद र प्रदेश सभा सदस्यहरूलाई दसैं भत्ता दिने भन्दा पनि त्यस रकमले भेन्टिलेटर किनिनुपर्ने बताएका हुन्। साथै शर्माले दशैँ भत्ता वापत पाएको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बिरामीलाई दिने घोषणा पनि गरेका छन्।
“कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं । दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।”,शर्माले ट्वीट गर्दै भनेका छन्।

संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भत्ता वापतको रकम लिएको भन्दै अहिले सांसदहरुको आलोचना भइरहेको छ। देश कोरोना भाइरस महामारीसंग जुधिरहेका बेला दसैं भत्ता दिन नहुने धेरैको माग छ।


यस अगाडी नेकपाका दुई सांसदले दशैँ भत्ता वापतको रकम नलिने घोषणा गरिसकेका छन्। नेकपा नेता नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य डा भीम रावलले आइतबार दसैँ पेस्की फिर्ता गर्ने घोषणा गरेका हुन् भने राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने दसैँ पेस्की नलिने शनिबार घोषणा गरेका हुन्।

