काठमाडौं – मिति गुज्रेका र अखाद्य वस्तु बजारमा ल्याउने कालोबजारियामाथि सरकारले सशक्त कारबाही नचलाएका कारण नागरिक समाज संगठित बनेर गुणस्तरहीन अखाद्य वस्तु बहिष्कार गरौं भन्दै सार्वजनिक भएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
संविधानमै उपभोक्ताको हक र अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा भने लागू हुन नसकेको भन्दै नागरिक समाजले यस्ता वस्तु उपभोग नगर्न आह्वान गरेको छ ।
सरकारले उपभोक्ताहरुको हक अधिकार सुनिश्चित गर्न धेरै निकाय खडा गरेको छ । तर ती नियामक निकायको भूमिका भने प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । नियामक निकायले निरन्तररुपमा बजार अनुगमन गर्नेभन्दा पनि चाडवाडको समयमा मात्र सक्रिय हुने गरेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रजातान्त्रिक मुलुकमा उपभोक्ताको अधिकार सुनिश्चितता गरिए पनि व्यावहारिकरुपमा लागू हुन नसक्ने बताउनुभयो ।
उपभोक्ता हक अधिकार नियम कानुनलाई केही व्यापारीहरुले राजनीतिक नेतृत्वमा मुठ्ठीमा राख्ने क्रम बढेको बताउँदै महर्जनले नियम कानुन उपभोक्ताको पक्षमा कर्यान्वयन गर्ने सरकार अनुचित धन्धा चलाउने वा कालोबजारी गर्नेको पक्षमा उभिएको आरोप लगाउनुभयो ।
‘अबको दिनमा उपभोक्ताहरुले कालोबजारी गर्ने अनुचितरुपमा उत्पादन हुने उत्पादनलाई बहिष्कार गर्नुपर्छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अखाद्य वस्तुलाई अब सामाजिक बहिष्कार गर्नुपर्छ । अब सामाजिक जागरण चलाउने बेला पनि आयो अब नागरिकरुले नैतिकताको हतियार देखाउने बेला आयो । नियतवश दशैंको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका वस्तु रिलेबलिङ गरेर बजारमा पु¥याउने व्यापारी तथा वितरकलाई बहिष्कार गर्नुपर्छ ।’
‘जनताबाट निर्वाचित जनप्रतिनिधि र सरकार नै कालोबजारीसँगको उठबसमा रमाउने गरेकाले उपभोक्ताको अधिकार सुनिश्चितता नहुँदासम्म सुशासनको प्रत्याभूति हुन नसक्दैन।’ –उहाँले भन्नुभयो ।
उहाँले नियामक निकायलाई हस्तक्षप नगरी काम गर्न दिनुपर्ने बताउँदै राजनीतिक नेतृत्व र बिचौलियको अवधै साँठगाँठ नभत्काउँदासम्म उपभोक्ताको अधिकार सधैं कुण्ठित हुने बताउनुभयो । सिंहदरबारको कुर्सीमा बस्नेहरुबाटै कालोबजारी हुने भएपछि त्रिवेणी गु्रप र विशाल गु्रपजस्ता अवैध काम गर्ने व्यापारिक समूह सक्रिय भइरहने महर्जन बताउनुहुन्छ ।