आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने घोषणा गरेसँगै अब अस्पताल पनि यसबाट पन्छिन थालेका छन्।
काठमाडौंको नयाँबानेश्वरस्थित निजामती अस्पतालले कोरोना संक्रमितको नि:शुल्क उपचारको बारेमा सूचना प्रकाशित गरेको छ। अस्पतालले कात्तिक २ गतेदेखि नै लागू हुनेगरी मन्त्रालयको निर्णय अनुसार अब कोरोना संक्रमितको उपचार खर्च व्यहोर्न नसकिने भन्दै सूचना निकालेको हो।
अस्पताल प्रशासनले सूचनामा कात्तिक २ गतेदेखि लागु हुने गरी कोरोना संक्रमितले आफ्नो सम्पूर्ण खर्च स्वयमले व्यहोर्नुपर्ने र खानाका लागि अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले विपन्न, असहाय, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सरसफाइकर्मीहरु अरु सबैले सबै किसिमका परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नु पर्ने जानकारी दिएका थिए। कोरोना महामारीको संकट बीच सरकारको यस्तो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ।