काठमाडौँ – सरकारले निःशुल्क कोरोना भाइरस परीक्षण र उपचारको लागि मापदण्ड तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड तोकेको हो।
मन्त्रालयले निःशुल्क कोरोना भाइरस परीक्षण र उपचार प्राप्त गर्ने वर्गमा पर्न आवश्यक हुने कागजातहरु समेत तोकेर उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ।
आइतबार मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचार गर्न सरकारले नसक्ने बताउँदै संक्रमित आफैंले गर्नुपर्ने बताएको थियो। त्यसको भोलि पल्टै मन्त्रालयले मापदण्ड सार्वजनिक गरेको हो।
नयाँ मापदण्डका अनुसार अब अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएका तथा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई निशुल्क परीक्षण र उपचार प्रदान गरिनेछ। ७० वर्ष पुगेका संक्रमितहरुले पनि निशुल्क उपचार पाउने मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
यस्तै ग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा निःशुल्क परीक्षण र उपचार गरिनेछ।
श्रोत : स्वास्थ्य मन्त्रालय