काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आउने महिनाहरुमा कोरोना भाइरस संक्रमण थप फैलिने बताएका छन्।
आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन समारोहलाई सम्बोध गर्ने क्रममा प्रधानसेनापति थापाले जाडो महिनामा कोरोना संक्रमण थप बढ्ने बताए।
कोरोनाको संक्रमण जाडो महिनामा बढ्ने भन्दै उनले सतर्कता बढाउन निर्देशन दिए। कोरोना थप फैलिएपछि आइपर्ने अवस्थाको सामना गर्नको लागि नेपाली सेनाले अहिले देखि नै तयारी थाल्नु पर्ने थापाको भनाई छ।
“जाडो मौसमका कारण कोभिड-१९ को महामारी बढ्दै जाने पूर्वानुमान गरिएको छ। त्यही अनुसार सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न लाग्नु होला।”,उनले भने।
देशमा निस्किएको जटिलताको विश्लेषण गरेर आवश्यकता सतर्कता बढाउन जरुरी रहेको उनले बताए। प्रधानसेनापति थापाले आफ्नो फौज र परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान राख्न पनि आग्रह गरे।
आइतबारदेखि सञ्चालन भएको ‘पृतनापति समन्वयात्मक बैठक’ पृतनापतिहरु भर्चुअल रुपमा सहभागी भएका थिए। पृतनापतिहरूले आ-आफ्नो क्षेत्रमा सुरक्षाको अवस्था बारे जानकारी गराएका थिए।
![]()
