काठमाडौँ — स्थायी कमिटीका निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि कुनै सहमति नभएको बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । दाहालसँग मतभेद बढिरहेको समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीले नेता नेपालसँग भेट गरेका हुन् ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । उनले छलफलको विषयवस्तुबारे आफूलाई जानकारी नभएको बताए । तर, बालुवाटार निकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका हुन् ।
दाहाल निवास खुमलटार धाउनभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव नेता नेपाललाई गरेको स्रोतको भनाइ छ । नेता नेपाल निकट नेताहरूका अनुसार मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव भने नआएको बताइएको छ । ओली र नेपालबीच झन्डै सवा दुई घण्टा भेटवार्ता भएको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा ओली र नेपाल समूह एक ठाउँ भएका थिए । पछि दाहाल र नेपाल समूहबीच सहमति भएपछि कर्णालीको राजनीतिमा नयाँ मोड आएको थियो ।
मंगलबारसम्म कर्णाली विवाद टुंगिएको छैन, बरु विवाद बढेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच कर्णाली विवादको विषयमा मंगलबार बिहान छलफल भएको थियो ।