काठमाडौँ – फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी तय गरिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
महाधिवेशनको नयाँ मिति तय गर्न बोलाइएको केन्द्रीय समिति बैठक पनि केन्द्रीय सदस्यहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि अनिश्चित बन्न पुगेको छ। तर नेतृत्वका लागि नेताहरूको दौड भने रोकिएको छैन। कांग्रेस नेता तथा कार्यकर्ताले १३औं महाधिवेशनमा जस्तै आगामी महाधिवेशनमा पनि वर्तमान सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरेका थिए तर पछिल्ला दिनमा भने स्थिति अलिक फेरिएको छ।
मध्य साउनसम्म संस्थापन समूहबाट देउवामात्र सभापतिको एकल उम्मेदवार देखिएका थिए। उनी निकट अन्य कुनै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिएनन्। तर उपसभापति विमलेन्द्र निधिले साउन २९ गते देउवालाई भेटेर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मन बनाएको बताएसँगै संस्थापन समूहबाटै अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी प्रस्तुत गरेका छन्।
निधिलाई उपसभापतिमा मनोनयन गरेपछि देउवासँग असन्तुष्ट देखिएका श्रेष्ठले नेतृत्व छाड्ने भए सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। देउवा र पौडेलपछि पार्टीमा आफू नै वरिष्ठ नेता भएको जिकिर गर्दै आएका श्रेष्ठले सभापति देउवालाई जुनसुकै अप्ठेरो समयमा साथ दिएको तर्क गर्दै अब आफूलाई सहयोग गर्नुपर्ने बताएका छन्।
कार्यवाहक सभापति, उपसभापतिसहितका जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले सभापति बन्ने आकांक्षा राख्नुलाई अस्वाभाविक मान्न नहुने देउवानिकट एक नेताले बताए। ‘अन्य आकांक्षीको जस्तो उहाँको दाबी पुग्दैन भन्ने होइन, म पनि पार्टीको नेतृत्व गर्नसक्छु भन्ने कुरा स्वाभाविक हो,’ ती नेताले भने, ‘दाबी गर्ने र उम्मेदवार नै बन्ने फरक कुरा हो।’