‘रअ’का हाकिमसामु राष्ट्रवादको हरिबिजोग

काठमाडौँ – छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको छ । उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

‘सो जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियोे,’ विमानस्थलका ती अधिकारीले भने, ‘आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान आएको छ ।’

गुप्तचरका प्रमुख गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए । त्यस्तै, उनीसँगै आएका अरुण जैनले अर्डिनरी पासपोर्ट प्रस्तुत गरेका थिए ।

गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाललगायतलाई भेट्ने तालिका छ । गोयलसँगै आएका अरुण जैन भूकम्पको वेला नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिए ।

भारतसँग हाम्रा समस्या पनि छन् जसको समाधान गरी मित्रता कायम गर्नु अपरिहार्य छ । तर, त्यसका लागि देशको प्रधानमन्त्रीले गुप्तचरका हाकिमसँग संवाद गर्ने ? भारतीय एयरफोर्सको जहाजमा आएका गोयल काठमाडौंमा भेटघाटमा व्यस्त भइरहेको वेला कूटनीतिक क्षेत्रमा बहस सुरु भएको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७०६:३५

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा