‘रअ’ प्रमुखको दौडधुप

काठमाडौँ – भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारूढ दल नेकपामा किचलो देखिएकाले सुरक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा विवाद र सत्तारुढ दलमा देखिएको किचलोबाहेक नेपालमा रअको कुनै औपचारिक बिजनेस छैन,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

यसअघि रअका अधिकारीहरू नेपाल भ्रमणमा आउँदा राष्ट्रिय अनुसन्धान विभागका अधिकरीहरूसँग समन्वय हुन्थ्यो तर अहिले भने उनीहरूले भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक अधिकारीहरू आउने भन्दै विशेष विमानका लागि अनुमति मागेका थिए । त्यसैअनुसार परराष्ट्रले कूटनीतिक व्यक्तिहरूका लागि भन्दै गरेको विशेष विमानको सिफारिसलाई हेर्ने हो भने नेपाल–भारत सम्बन्ध सुधारका लागि रअ प्रमुखको भ्रमण केन्द्रित भएको अनुमान पनि कतिपयको छ । रअका प्रमुखसहितका अधिकारीहरू परराष्ट्रको सिफारिसकै आधारमा विशेष विमान (आइएफसी ४६२०) बाट बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएकाले सीमा विवादलगायत सम्बन्ध सुधार अजेण्डा हुन सक्ने आंकलन पनि छ । त्यसो त रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभए पनि सीमा विवादबारे विभिन्न दलका नेताहरूसँग उनले छलफल गर्ने कार्यक्रम भएको एक उच्च अधिकारीले जानकारी दिए । तर, कुन तहको राजनीतिक भेटघाट भन्नेबारे भने केही खुलेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ ।

तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरूले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफैं सहभागी भएका छन् । केके विषयमा छलफल भयो भन्नेबारे केही खुलेको छैन ।’

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७०८:०६

तरकारी, दाल र गेडागुडीको मूल्य वृद्धि उच्च