काठमाडौं – गत असार मसान्तसम्म १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ३ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा १४३३ अर्ब ६७ करोड रुपियाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा भदौ मसान्तमा १२५५ अर्ब पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा भदौ मसान्तमा १७८ अर्ब ६६ करोड पुगेको छ ।
भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव १ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६ दशमलव ५ महिनाको वस्तु आयात र १४ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३८ दशमलव १ प्रतिशत, १२४ दशमलव ५ प्रतिशत र ३३ दशमलव ६ प्रतिशत रहेका छन् ।
असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७ दशमलव २ प्रतिशत, १०५ दशमलव ७ प्रतिशत र ३३ दशमलव १ प्रतिशत रहेका थिए ।