विपन्न, असहाय, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सरसफाइकर्मी बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको निर्णयपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ।
एक विज्ञप्ती जारी गर्दै अस्पतालले कोरोना संक्रमितको उपचारमा लाग्ने शुल्क सार्वजनिक गरेको छ। कार्तिक १४ गतेबाट लागू हुने गरी कात्तिक कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
आईसीयूसहित भेन्टिलेटरमा राख्नु पर्ने बिरामीले अब ५० हजार धरौटी रकम जम्मा गर्नु पर्ने र दैनिक १५ हजार उपचार शुल्क लाग्ने असपतालले जानएको छ। त्यस्तै, आईसीयूमा राख्नु पर्ने र क्याबिन आइसोलेसनमा बस्ने बिरामीको दैनिक उपचार खर्च ७ हजार ५०० र ३० हजार धरौटी रकम लाग्नेछ भने ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३५०० उपचार खर्च लाग्नेछ। ग्रास्ट्रो आइसोलेसनमा बस्नेले धरौटी रकमको रूपमा २० हजार जम्मा गर्ने पर्नेछ।
त्यस्तै, गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुने पनि विज्ञप्तीमा उल्लेख छ।