कोरोना जितेर फर्किएका रोनाल्डोको दुई गोल, युभेन्टस विजयी !

जेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीका रुपमा २ गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियालाई ४-१ ले पराजित गरेको छ ।

खेलको १६ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले वेस्टन मकेनीको पासलाई गोलमा परिणत गरे । घरेलु टोलीले ३२ औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गर्यो । उनले पाओलो बार्तोलोमेईको पासलाई सदुपयोग गर्दै गोल गरे ।

दोस्रो हाफको ५६ औं मिनेटमा प्रशिक्षक आन्द्रीए पिर्लोले पाउलो डिबालाको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराए । पछिल्लो केहि खेल कोरोना संक्रमणका कारण गुमाएका रोनाल्डोले मैदान प्रवेश गरेको केहि समयमा नै प्रभाव छाडे । उनले मैदान छिरेको ३ मिनेट नबित्दै युभेन्टसलाई अग्रता दिलाए । उनले मोराटाको थ्रु पासलाई अगाडी बढाउँदै गोलरक्षकलाई समेत छलाएर गोल गरेका थिए ।

६८ औं मिनेटमा एड्रीएन राबीओटले युभेन्टसको अग्रता दोब्बर पारे । उनले फेडेरिको किएजाको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर सहजै गोल गरे । ७७ औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । किएजालाई पेनाल्टी क्षेत्रभित्र बार्तोलोमेईले लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ४-१ को अग्रता दिलाए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । शीर्षस्थानमा रहेको एसी मिलानले ६ खेलमा ५ जित र १ बराबरीसँगै १५ अंक जोडेको छ । स्पेजिया भने ६ खेलमा ५ अंकसहित १६ औं स्थानमा छ ।

त्यसअघि दिनकै अर्को खेलमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि उडिनेजीमाथि संघर्षपूर्ण जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको थियो ।

अपराजित रहेको मिलानले उडिनेजीमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा फ्रान्क केससिइ र ज्लाटन इब्राहिमोभिचले गोल गरे । घरेलु टोलीका रोड्रिगो डि पलले एक गोल फर्काए ।

युडिन इटालीमा आइतबार साँझ भएको खेलमा मिलानले खेलको १८औं मिनेटमा फ्रान्कको गोलबाट अग्रता लिएको थियो । ज्लाटनले क्रसबाट आएको पासलाई उत्कृष्ट नियन्त्रणमा लिदै दिएको पासमा केससिइले सुन्दर फिनिस गरेका थिए ।

४८औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । पेनाल्टी बक्समा एलेसियो रोमागनोलीले इग्नासियो पुस्सेट्टोलाई लडाएपछि प्राप्त पेनाल्टीमा मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले सही दिशामा डाइभ दिएपनि रोड्रिगो गोल गर्न सफल भए ।

निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी रहँदा ज्लाटनले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । एन्टी रेविकको क्रसलाई सेवास्टिन डि माइयोले क्लियर गर्न नसकेको बललाई ज्लाटनले ओभर हेड किकमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७०८:३६

“मेस्सीलाई प्रशिक्षण गर्न गार्हो छ”