‘रवि लामिछानेको कार्यक्रम मार्फत अफवाह फैलाइयो, कारबाही होस्’ – आयुर्वेद चिकित्सक संघ

काठमाडौँ – नेपाल आयुर्वेद चिकित्सक संघले न्युज २४ च्यानल र आफूलाई आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनालाई कारवाही गर्न माग गरेको छ।

न्युज २४ च्यानलमा रवि लामिछानेको कार्यक्रम मार्फत भ्रम फैलाउने कार्य गरेको भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले छानबिन गरी कारवाही गर्न माग गरेको हो।

रवि लामिछानेको कार्यक्रम मार्फत आयुर्वेद चिकित्सा सम्वन्धि भ्रम फैलाउने, आयुर्वेदको सिद्दान्त बिपरितका जडिबुटी र विधि सिफारिस गरी सर्व साधारणमा भ्रम पैदा गरेको तर्फ संघले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण व्यक्त गरेको छ।

तिमिल्सिनाद्वारा व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्दान्त विपरित रहेको संघले स्पष्ट पारेको छ।

“त्यसमा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको सिद्धान्तविपरीत रहेका छन्। आयुर्वेद चिकित्सासम्बन्धी भ्रम फैलाउने, आयुर्वेदको सिद्धान्त विपरितका जडिबुटी र विधि सिफारिस गर्दा सर्व साधारणमा भ्रम पैदा भएर रोगको जोखिम बढाइएको छ। बिरामीलाई उपचार गर्दा एक प्रकारका जडिबुटीबाट गर्ने र सञ्चार माध्यमहरुबाट अर्कै जडिबुटीको नाम लिएर भ्रामक अभिव्यक्ति सार्वजनिक गररिएको छ।”,जारी विज्ञप्तिमा भनिएको छ।

न्युज २४ च्यानल र बि.पी. तिमल्सिनामाथि छानबिन गरी सत्य तथ्य ल्याउन नेपाल सरकार तथा सम्वन्धित निकायसंग संघले माग गरेको छ।

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७१७:२९

टेकु अस्पतालले धरौटी नलिने