सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ। नेपाल सरकारले राजकुमारको सुरक्षा गर्ने जिम्मेवारी रहेका कारण सेनाले सर्भिलेन्स गरेको बताइए पनि आरोहरण दलमा अमेरिकी, क्यानडाली नागरिक समेत रहेका कारण सेनाले विशेष चासो दिएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
कतारमा राजकुमार त्यहाँको सेनाको ओहोदामा रहेका कारण सेनाले आफ्नो उपस्थिति र निगरानी राख्नुपर्ने बताउँदै पर्यटन मन्त्रालयसँग यो विषय समयमै जानकारी नदिएकोमा असन्तुष्टि समेत जनाएको स्रोतले जनाएको छ। ‘कतार र बहराइनका राजकुमारहरु नेपालको हिमाल आरोहण गर्न आउनु सुखद कुरा हो तर उहाँहरूका साथ आउने सबै आरोहरणकर्ता पनि सेनामै कार्यरत हुन/होइन त्यसबारे जानकारी राख्नु नेपाली सेनाको दायित्व साथै सुरक्षा गर्ने जिम्मा सरकारको भए पनि कतारको सेनामा कार्यरत राजकुमारको ओहदा र मर्यादाका हिसाबले हाम्रो उपस्थिति जरुरी हुन्छ’, नेपाली सेनाका एक अधिकारीले भने।
केही दिनअघि नेपाल आएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको छ। आरोहणका लागि कठिन मानिने आमादब्लमका लागि कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियनको टोली आधार शिविर पुगेको हो। राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला गएको थियो। सो टोलीमा राजकुमार अब्दुल्लासहित अमेरिकी, क्यानेडियन गरी छ जना विदेशी र ११ जना नेपाली गरी १६ जना रहेका छन्। जसमा छ जना विदेशी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने बताइएको छ। ६ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो।
यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले सोलुखुम्बुको ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल र आठ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका थिए। बहराइनका राजकुमारले असोजको अन्तिम साता मनास्लु हिमाल आरोहण गरेका थिए।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरे। ८,१६३ मिटर अग्लो मनासलु हिमाल आरोहरणमा सेभेन समिट ट्रेक्स प्रालिले चाजोपाँजो मिलाएको थियो।