‘उपचारको नाममा राज्यकोषबाट लाखौं/करोडौं लुट्ने सबैले फिर्ता गरौं, नत्र आदर्शका गफ नछाँटौं’

काठमाडौँ – जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले उपचारका लागि राज्यकोषबाट लाखौं/करोडौं लिएकाहरुले रकम फिर्ता गर्नुपर्ने बताएका छन्।

नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च भएको विषयमा ट्वीटर मार्फत आफ्नो धारणा राख्दै भट्टराईले उपचारका नाममा राज्यकोषबाट लाखौंकरोडौं लिने सबैले फिर्ता गर्नुपर्ने बताएका हुन्।

त्याग/वलिदानका उदाहरण बन्नुपर्ने शीर्ष नेतृत्वका व्यक्तिहरू नै निजी उपचारनिम्ति राज्यकोषबाट लाखौं/करोडौं लुट्न नलजाउनुले देश पछाडी परेको भट्टराईको तर्क छ।

” त्याग/वलिदानका उदाहरण बन्नुपर्ने शीर्ष नेतृत्वका व्यक्तिहरू नै निजी उपचारनिम्ति राज्यकोषबाट लाखौं/करोडौं लुट्न नलज्जाए पछि देश कसरी बन्छ?”,भट्टराईले ट्वीटर मार्फत प्रश्न गरेका छन्। उपचारनिम्ति राज्यकोषबाट जसले जे-जति लिएको छ, त्यो सम्पूर्ण फिर्ता गर्न भट्टराईको सुझाव छ।

“हामी जोजसले लिएका छौं,तुरून्त फिर्ता गरौं!नत्र आदर्शका ठूला गफ नछाॅटौं;भोलि बत्तिसै दाॅत देखाउॅदै भोट माग्न नजाऊॅ!”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च

अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२-६३ पछि एक दशकभित्र पहुँचवालाको उपचारमा राज्यकोषबाट तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ। उपचारका लागि राज्यकोषबाट सबैभन्दा बढी रकम लिनेमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति दिवंगत सुशील कोइराला रहेका छन्। उनको उपचारका लागि एक करोड ८७ लाख १७ हजार नौ सय ७४ रुपैयाँ खर्च भएको थियो।

यस्तै पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि राज्यकोषबाट एक करोड ४० लाख रुपैयाँ खर्च भएको छ । उक्त रकम नेपालमा नभई विदेशमा उपचार गराउँदा खर्च भएको हो।

उपचारको लागि सबै भन्दा बढी खर्च भएका तेस्रो व्यक्तिमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली छन्। उनको उपचारमा राज्यले ०७३ सम्म मात्र एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७०९:११

तिहारमा देउसी भैलो खेल्न नपाइने