भारतीयलाई नेपाली नागरिकता दिन सिफारिस बनाइदिने वडाध्यक्ष धरौटीमा रिहा

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा छुटेका छन्। सोमबार जिल्ला अदालत कैलालीले वडाध्यक्ष जोशीलाई २५ हजार धरौटीमा रिहा गरेको हो।

२० फागुन ०७५ मा भारतीय नागरिक अलियास अन्सारीलाई नेपाली नागरिकता बनाउन धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस गरेका भन्दै प्रहरीले बिहीबार वडाध्यक्ष जोशीलाई पक्राउ गरेको थियो।

जोशीसँगै पक्राउ परेका भारतीय नागरिक अन्सारी सहित २ जनालाई कारागार चलान गरिएको छ भने एक जनालाई साधारण तारेखमा छोडिएको छ। नक्कली प्रमाण पेस गरेर नेपाली नागरिकता लिएको भन्दै अन्सारी र दाई बनेर उनलाई नागरिकता दिलाउन सहयोग गर्ने खुसीराम चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता प्रतिक विष्टले जानकारी दिए।

भारतीय नागरिकको नक्कली भाउजू बनेकी गीता चौधरी साधारण तारेखमा छुटेकी छन् भने धनगढी उपमहानगरपालिका– १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने अझै फरार रहेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१५:५२

आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य आज बढ्यो ! कति ? [मूल्य सहित]