कांग्रेस नेता विश्वकर्मा होशमा आए !

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीनबहादुर विश्वकर्माको होश खुलेको छ। कोरोना भाइरस संक्रमण भएपश्चात स्वास्थ्य अवस्था जटिल भएका विश्वकर्माको मंगलबार होश खुलेको हो।

विश्वकर्माको सचिवालयले दिएको जानकारी अनुसार उनको कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। ग्राण्डी अस्पतालका उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

विश्वकर्मालाई कार्तिक १ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो ।

वीर अस्पतालमा उपचार हुँदै गर्दा विश्वकर्माको स्वास्थ्य अवस्था जटिल बनेको थियो। जसपश्चात उनलाई धापासीस्थित ग्राण्डी अस्पताल पुर्याइएको थियो। विश्वकर्माको स्वास्थ्य गम्भीर बनेपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी विशेष ध्यान दिन आग्रह गरेका थिए।

कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले स्वास्थ्यमन्त्री ढकाललाई टेलिफोन गरी विश्वकर्माको उपचारका लागि भारत लैजान आग्रह समेत गरेका थिए।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१८:२६

युएईमा प्रयोग गर्न थालियो कोरोना भ्याक्सिन: युएईका प्रधानमन्त्रीले समेत लगाए !