प्रधानमन्त्री ओलीले बाबुरामलाई फोन गरे, बाबुरामले टिप्पणी गर्दै यस्तो भने !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई स्वास्थ्यलाभको शुभकामना दिएका छन्। कोरोना भाइरस संक्रमणको पुष्टि भएका भट्टराईले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले भट्टराईलाई बुधबार टेलिफोन गरेर स्वास्थ्यलाभको शुभकामना दिएका हुन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले ट्वीट गर्दै फोन गरेर स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्। साथै भट्टराईले नेकपाभित्रको लडाईं अग्रगामी र पश्चगामीबीचको भएको टिप्पणी पनि गरेका छन्।

“हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम ओलीलाई धन्यवाद दिँदै यो तीतो सत्य भन्नैपर्छ। नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो !”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी रहेको भट्टराई बताउँछन्। संविधानसभामा माओवादी-मधेसवादी विरूद्ध नेपाली कांग्रेससँग सहकार्य गरेका ओलीले पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरेको तर्फ सबैले ध्यान दिनुपर्ने भट्टराईको भनाई छ।

“ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेपाली कांग्रेससँग सहकार्य गरे। पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ! अब के ?सबैले सोचौं !”,भट्टराईको ट्वीट छ।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७१९:४५

भूकम्प गएको ९० घण्टापछि जीविकै फेला परिन् ३ वर्षीया बालिका !