पदीय भागबन्डामा नेकपाको रडाको

मधुसूदन रायमाझी, काठमाडौं – पाँच वर्ष सरकारको नेतृत्व गर्ने जनअभिमत पाएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो चर्किंदै गएको छ । विचार र सिद्धान्तभन्दा पनि पछिल्लो पदीय लडाइँ र भागबन्डामा कुरा मिल्न नसक्दा विवाद थप चर्किएको हो । यो समाचार नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन्।

सत्तारूढ दल नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रधानमन्त्री ओलीले भने सरकारको काममा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै आउनुभएको छ ।

नेकपाभित्र दुई समूहको विवादले कार्यकर्तामा मात्र नभई नागरिकमा समेत अन्योल सृजना गरेको छ । पार्टीभित्रको आन्तरिक किचलोले गर्दा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कामसमेत ओझेलमा परेको छ ।

गत असारबाट शुरु भएको आन्तरिक किचलो दुई महिनापछि अर्थात् भदौ अन्तिममा आएर सहमतिमा टुंगो लागेको थियो । तर सहमतिको मसी सुक्न नपाउँदै प्रधानमन्त्री ओलीले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, भारतीय ‘रअ’का प्रमुखसँगको भेट, कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, पर्सा घटनालगायतको विषयप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएपछि विवाद थप सतहमा आएको छ ।

कर्णाली प्रदेशको विवाद चुलिएपछि ओली–प्रचण्डको भेटसमेत पातलिएको छ । प्रधानमन्त्रीले भेटवार्ताका लागि बारम्बार आग्रह गरेपछि केही दिनअघि ओली–प्रचण्डबीच बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीच चर्काचर्की भएपछि अहिले संवादसमेत टुटेको छ ।

नेकपाका नेता मणि थापाले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा समस्या सृजना भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीभित्र अहिले विचार र सिद्धान्तको लडाइँ छैन, पदीय भागबन्डाकै विषयमा नेताहरुमा असन्तुष्टि देखिन्छ, सबैले इमानदारीताका साथ पार्टीको निर्णय कार्यान्वयन गर्ने हो भने विवाद समाधान नै हुन नसक्ने जटिल खालेको छैन ।’ पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थापाले सरकारको काममा पनि पार्टीले अनावश्यकरुपमा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७०८:५७

तिहार र छठमै व्यापारीद्वारा चिनीमा मनलाग्दी रकम असुली, सर्वसाधारण मारमा