काठमाडौँ – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ ।
सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन् ।
सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ ।
यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेको थियो । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।