काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टीको विवाद मिलाउन राष्ट्रपति सक्रिय भएको विषय प्रति आपत्ति जनाएका छन्। राणाले बिहिबार एक ट्वीट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पूनः सक्रिय भएको भन्दै आपत्ति जनाएका हुन्।
राणाले ट्वीट गर्दै दलभन्दा माथि उठ्न सक्ने राष्ट्र प्रमुखले मात्रै संविधान अनुकूल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । एक पार्टी विशेषबाट राजनीति गरेर हुर्केको व्यक्तिले निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न नसक्ने उनको भनाई छ।
प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्था मात्रै निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै उनले राजसंस्थाको आवश्यकता तर्फ इंकित गरेका छन्।
“राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पूनः सक्रिय हुनुभयो। यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो। एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो। त्यसैले राष्ट्र प्रमुख दलको सदस्य हुनु हुन्न भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको छ। कुनै दलको पक्षपाति नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्दछ। अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्शाउछ।”,राणाले ट्वीट गर्दै भनेका छन्।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चलिरहेको विवाद र त्यस विवाद मिलाउन राष्ट्रपतिले लबिङको प्रयास गरेकी थिइन्। जसक्रममा उनले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेटेर एकता जोगाउन आग्रह गरेकी थिइन्।